जेनजी आन्दोलनपछि जब नेपाली कांग्रेसभित्र पार्टी रूपान्तरणको प्रश्न उठ्यो, तब धेरै नेताले आफ्नो कित्ता ‘क्लियर’ गरे।

पुरानो नीति र पुरानो नेतृत्वमा जड बनेको पार्टीलाई त्यही रूपमा अघि बढाउने कि रूपान्तरणको पक्षमा उठेको विद्रोहमा साथ दिने भन्ने दुई धारमध्ये उनीहरू रूपान्तरणको पक्षमा उभिए।

तिनैमध्ये एक हुन्, पुष्पा भुसाल।

नेपाली कांग्रेसमा लामो समयदेखि सभापति शेरबहादुर देउवा निकट रहेर काम गरेकी पुष्पा अन्तिम समयमा गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा अघि बढेको दोस्रो विशेष महाधिवेशनको पक्षमा खुलेकी थिइन्।

त्यही विशेष महाधिवेशनले ६५ वर्षीया पुष्पालाई शैलजा आचार्यपछि नेपाली कांग्रेसको दोस्रो महिला उपसभापति निर्वाचित गरेको छ।

जेनजी आन्दोलनपछि बनेको सरकारले फागुन २१ गते चुनाव घोषणा गरेपछि कांग्रेसभित्र पार्टी सुधारको बहस गहिरियो। नयाँ परिस्थितिमा पुरानै नेतृत्व र पुरानै प्रवृत्ति बोकेर अघि बढ्न नसकिने भन्दै महाधिवेशनबाट पार्टी सुधार गरेर मात्र चुनावमा जानुपर्ने अडान महामन्त्रीद्वय गगन र विश्वप्रकाशले लिए। सभापति देउवा पक्षधर भने चुनावअघि महाधिवेशन गर्न नभ्याइने भन्दै पन्छिरहेको थियो।

त्यसैबीच कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विधान अनुसार विशेष महाधिवेशन बोलाउन हस्ताक्षर बुझाए।

त्यही बेला देउवा पक्षका २५ जना केन्द्रीय सदस्यले पनि चुनावअघि विशेष वा नियमित महाधिवेशन गर्नुपर्ने मत राखेका थिए। त्यो समूहका नेतृत्वकर्ता पुष्पा भुसाल नै थिइन्। त्यसैमा पछि पाँच जना थपिए।

उनीहरूले फागुन २१ को चुनावअघि नै महाधिवेशन हुनुपर्ने धारणा सार्वजनिक गरे पनि विशेष महाधिवेशनका पक्षमा खुलेर लागेका थिएनन्। बरू छुट्टै समूह बनाएर महाधिवेशन गर्न दबाब दिइरहेका थिए। सकेसम्म पार्टीले नै महाधिवेशन गरेर जानुपर्नेमा उनीहरूको जोड थियो।

तर देउवा र उनको समूहका नेताहरू त्यो बाटोमा नजाने प्रस्ट भएपछि उनीहरू अन्तत: विशेष महाधिवेशनमा भाग लिन आए।

पुस २७ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन उद्घाटन हुँदै गर्दा पुष्पासहित देउवा पक्षका ३० जनाभन्दा बढी नेता महाधिवेशन स्थल पुगेका थिए।

त्यस दिन विशेष महाधिवेशनमा उद्घाटन मन्तव्य दिँदै पुष्पाले भनेकी थिइन्, ‘५४ प्रतिशत हस्ताक्षर जब कांग्रेस केन्द्रीय कार्यालयमा दर्ज भयो, हामी कांग्रेसका ३० जना केन्द्रीय सदस्य हाम्रै नेताहरूको घरदैलोमा गयौं। हामीले उहाँहरूलाई विधान स्मरण गराउन खोज्यौं। तर हामी निराश भएर फर्कनुपर्ने अवस्था भयो। त्यसैले हामी ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको सम्मानका लागि उपस्थित भएका हौं।’

‘पार्टी विधानभन्दा बाहिर कोही नेता र कार्यकर्ता जान सक्दैन, हामी कांग्रेस विधि-विधान अनुसार अघि बढोस् भन्ने चाहन्छौं,’ उनले अगाडि भनिन्, ‘अब कांग्रेस गुटबाट मुक्त हुनुपर्छ, कृपाबाट अलग हुनुपर्छ।’

पुष्पाले आफ्नो मन्तव्य क्रममा कांग्रेसका स्वर्गीय नेता शैलजा आचार्यलाई सम्झिएकी थिइन् र अब बन्ने कांग्रेस शैलजाले भनेजस्तै ‘दुबोसरी फैलिनुपर्ने’ बताएकी थिइन्।

‘नेपाली कांग्रेसलाई वाम गठबन्धनबाट मुक्त बनाउनुपर्छ। नेपाली जनताको कांग्रेस बनाउनुपर्छ। हाम्रो नेता शैलजा आचार्यले भनेजस्तै दुबोजस्तै फैलिने कांग्रेस बनाउनुपर्छ,’ उनको भनाइ थियो।

बुधबार राति त्यही विशेष महाधिवेशन हलबाट उपसभापतिमा निर्विरोध निर्वाचित भएपछि पुष्पाले फेरि उनै शैलजालाई सम्झिइन्। शैलजाजस्तो आदर्श नेतृत्व पुगेको पदमा पुग्न पाउँदा खुसी लागेको बताइन्।

पुष्पाले विद्यार्थी जीवनदेखि ५० वर्ष कांग्रेस राजनीतिमा सक्रिय भएर काम गरेकी छन्। उनी नेपाली कांग्रेसको महिला संघमा महासचिव भएकी थिइन्। पार्टीको कानुन विभागमा पनि काम गरिन्। पछिल्लो समय नेपाली कांग्रेसकी केन्द्रीय सदस्य थिइन्।

उनले नेपाली कांग्रेसबाट संविधानसभा सदस्य र सांसद भएर काम गरेकी छन्।

उनी २०५६ मा प्रतिनिधिसभा उम्मेदवार हुँदा पराजित भएकी थिइन्। त्यसपछि २०६४ को संविधानसभामा अर्घाखाँचीबाट निर्वाचित भइन् र संविधान मस्यौदा समितिमा बसेर काम गरिन्।

२०७० सालमा उनी फेरि चुनाव हारिन्।

२०७४ सालमा समानुपातिक सांसद बनेकी उनी नेपाली कांग्रेसकी सचेतक भएकी थिइन्। त्यही कार्यकालमा उनी प्रतिनिधिसभाकी उपसभामुख भइन्।

२०७९ को निर्वाचनमा अर्घाखाँची-२ बाट प्रत्यक्ष चुनाव लडेकी उनी पराजित भइन्।

महिला नेताहरू चुनाव हारेपछि राजनीतिबाटै हराउँछन् भन्ने भाष्य धेरै सुनिन्छ। पुष्पाले भने यो भाष्य तोड्दै २६ वर्ष निरन्तर संसदीय चुनाव लडिन्, हारजित जे भए पनि।

यस अर्थमा पुष्पा हारजितको मतलब नराखी निरन्तर आफ्नो कर्ममा अघि बढिरहने नेतामा पर्छिन्।

उनी २०१५ सालको बिपी कोइराला सरकारमा कृषिमन्त्री रहेका काशीनाथ गौतमकी छोरी हुन्। पारिवारिक विरासतमै राजनीति गर्ने प्रेरणा पाएकी पुष्पाको वकालत र अध्यापनमा लामो अनुभव छ।

उनले महाधिवेशन स्थलबाट अबको नेपाली कांग्रेसलाई युवा र महिलामैत्री बनाउने उद्घोष गरेकी छन्।

‘यो देशका ४० प्रतिशत युवा ऋणको बोझ बोकेर बिदेसिन नपरोस्। महिलाहरू हिंसाबाट मुक्त होऊन्। यो महाधिवेशनले त्यो सन्देश दिन जरूरी छ,’ उनले भनेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *