प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लोकतन्त्र खतरामा परेको बताएका छन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा काँग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले ‘लोकतन्त्र विरोधी’ केपी ओलीका कारण गणतन्त्र धेरै दिन रहन नसक्ने बताएका हुन् ।
‘व्यवस्थालाई बदनाम गर्ने गरी व्यक्तिहरू जुन ढंगले हिँडिरहेका छन् । त्यो ढंगबाट अगाडि बढ्दा व्यवस्था नै समाप्त हुन्छ ।’ सम्बोधनका क्रममा पौडेलले भने, ‘केपी ओलीको पाराले नेपालको गणतन्त्र अब धेरै दिन रहन सक्दैन ।’ काँग्रेसका केन्द्रीय सदस्य पौडेलले प्रधानमन्त्री गणतन्त्र विरोधी रहेको आरोप लगाए । ‘हिजो हामीले गणतन्त्रको नारा लगाउँदै गर्दा प्रधानमन्त्री भन्नुहुन्थ्यो बयलगाढा चढेर अमेरिका पुगिँदैन ।
नेपालमा गणतन्त्र आउँदैन ।’ उनले भने, ‘गणतन्त्र विरोधी केपी ओली हामीले ल्याएको गणतन्त्रमा दुई पटक प्रधानमन्त्री बन्नुभयो । गणतन्त्र विरोधी विद्या भण्डारी दुई पटक राष्ट्रपति हुनुभयो । प्रक्रियाबाट हुनुभयो त्यसमा हाम्रो आपत्ति भएन । तर, गणतन्त्रमा प्रधानमन्त्री भइसकेपछि गणतन्त्रको विरोध गर्न मिल्दैन । राष्ट्रपति भइसकेपछि लाल सम्राट बनेर, नयाँ शाही शासक बनेर गणतन्त्रको बदनाम गर्न मिल्दैन ।’
नेपाली काँग्रेस जिल्ला कार्य समिति कञ्चनपुरको आयोजनामा काँग्रेस नेता प्रदीप पौडेलको नेतृत्वमा महेन्द्रनगरमा पनि विरोध प्रदर्शन भएको हो । पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन महेन्द्रनगर बजार परिक्रमा गर्दै स्मारकमा गएर कोण सभामा परिणत भएको थियो ।