कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको षडयन्त्रको साझेदार राष्ट्रपति बनेको भन्दै त्यो दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् । यसविरुद्ध सबैले एकीकृत लडाइँ लड्नुपर्ने उनको ठहर छ । प्रस्तुत छ, नेता पौडेलसँग हिमालय टेलिभिजनले गरेको कुराकानी–
कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीमा दाबी गर्नुभएको थियो, तर हुन सक्नु भएन, केपी शर्मा ओलीको अगाडि अन्य दलको केही सीप नलाग्ने हो ?
१४९ जना सदस्यहरुको हस्ताक्षरसहित बहुमत पुर्याएर राष्ट्रपतिसमक्ष वैकल्पिक प्रधानमन्त्रीको दाबी प्रस्तुत हुँदाहुँदै त्यसलाई नजरअन्दाज गरेर रापले जसरी प्रतिनिधिसभा विघटन गर्ने काममा आफूलाई सहभागी गराउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको महान षडयन्त्रको साझेदार बन्नुभयो यो अत्यन्त दुर्भाग्यपूर्ण छ ।
अब कांग्रेस कसरी अगाडि बढ्छ ?
यसको विरोध कांग्रेसले गर्छ । सबै किसिमबाट यसको विरोध गर्न कांग्रेस अग्रसर हुनुपर्छ । मैले भनिसकेको छु नेतृत्वलाई, संसदीय दललाई । सबैभन्दा पहिले हाम्रो संसदीय दल अगाडि हुनुपर्यो । हाम्रो संसदीय दलको नेतृत्वले अग्रसरता लिनुपर्यो । अग्रिम मोर्चामा उभिनुपर्यो यो असंवैधानिक, अलोकतान्त्रिक र राष्ट्रघाती कदमको विरुद्धमा । यो बेलामा आएर अहिले संसदको विघटन गरेर चुनावमा लान्छु भनेर भन्नु, यत्रो विचल्ली परेको, चिहिलबिहिल राष्ट्र परेको बेलामा अर्बौं रुपैयाँ खर्च गरेर चुनाव गराउँछु भन्नु यो भन्दा विडम्बनापूर्ण कुरा केही हुँदैन । यस्ताको विरुद्धमा हाम्रो पार्टीले, पार्टीको नेतृत्वले अग्रसर भएर परिवर्तनलाई बचाउनपट्टि पाइला चाल्नुपर्छ र कानूनी लडाइँ र अरु हरेक किसिमको लडाइँमा आफूलाई सरिक गराउनुपर्छ ।
अन्य दलहरुसँग सहकार्य गरेर कसरी अगाडि बढ्नुहुन्छ ?
हिजो जसरी यो प्रतिनिधिसभा विघटनको विरुद्ध जसरी एक भएका थियौं, हिजो सबैले आफ्नो आफ्नो ठाउँबाट काम गरेका थिए, अब सम्मिलित रुपले काम गर्नुपर्छ । सम्मिलित रुपले अगाडि बढ्नुपर्छ । अब अदालत पनि जानुपर्छ र यो संविधान बचाउने काममा काममा कांग्रेस अग्रसर रहनुपर्छ ।
सधैं गन्जागोलको स्थिति, सत्ता स्वार्थको खेल भइरहनुभन्दा अब सबै दल चुनावमा गए हुँदैन ?
चुनावमा गए पनि त्यही कुरा दोहोरिने होइन ? तिनै मान्छे आउने होइनन् ? त्यही प्रवृत्ति दोहोरिने होइन ? म त यो प्रवृत्ति अन्त्य चाहन्छु । प्रवृत्तिको अन्त्य गर्नका लागि कम्मर कस्नुपर्छ एकपटक । आफैंमात्र सबैथोक भन्ने प्रवृत्तिबाट देशलाई मुक्त गराउनका लागि हामी सबै स्वच्छ मनले अग्रसर हुनुपर्छ ।
कांग्रेस चुनावमा सहभागी हुँदैन त्यसो भए ?
पहिले चुनाव हुनसक्ने परिस्थिति आओस् । चुनाव हुने स्थिति बनोस् । कांग्रेस चुनावबाट कहिले भागेको छ ? तर त्योभन्दा अगाडि नै यो संविधानलाई फाल्ने, त्यसको घाँटी निमोठ्ने प्रपञ्च अगाडि बढ्यो । यो कुरालाई बुझ्नुपर्यो कांग्रेसले ।