बागमतीमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने दिन नजिकिएपछि नेपाली कांग्रेस र नेकपा एमालेले सरकार गठनसम्बन्धी छलफललाई तिब्रता दिएका छन् ।
शनिबारसम्म दुई दलबीच नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने समझदारी बनिसकेको छ तर मन्त्रालय भागबण्डामा भने कुरा मिलिसकेको छैन ।
कांग्रेसका तर्फबाट कार्यदल सदस्य रामकृष्ण चित्रकारका अनुसार मन्त्रालयको संख्या १३ वटै कायम राख्ने सहमति भएको छ । सरकार गठन भएको २० दिनभित्र टुंग्याउने गरी प्रदेश सरकारका प्रमुख सचिवको नेतृत्वमा एउटा कार्यदल बनाएर मन्त्रालय संख्याको निर्धारण गरिने चित्रकारले बताए ।
१३ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित कांग्रेसलाई ६ वटा मन्त्रालय र एमालेले ७ वटा मन्त्रालय लिने गरी छलफल अगाडि बढेको नेपाली कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए ।