आफ्नो गृहप्रदेशमा प्रदेशको अधिवेशन गराउन नसकेपछि कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई ठूलो संकट आइलागेको छ ।
पार्टी उपसभापतिकै गृहप्रदेशमा अधिवेशन रोकिएपछि सकारात्मक सन्देश गएन । निधि कांग्रेसको १४औं महाधिवेशनमा निधि सभापतिका आकांक्षीसमेत हुन् ।
नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन स्थगित गरिएको छ। प्रदेश अधिवेशन उद्घाटन भएको पाँच दिन बितिसक्दा पनि मतदाता नामावली सार्वजनिक हुन नसक्दा अधिवेशन नै स्थगित भएको हो। प्रदेश २ को आठ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्रहरु छन्।
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश २ संयोजक रमेश रिजालले सोमबार पत्रकार सम्मेलन गर्दै सर्वसम्मत रुपमा निर्वाचन हुन नसकेपछि तत्कालका लागि निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिए।
प्रदेश २ को सर्लाही जिल्लाको कुनै पनि निर्वाचन क्षेत्रको अधिवेशन हुन सकेको छैन भने महोत्तरी, बारा र सप्तरीको १(१ वटा क्षेत्रको अधिवेशन हुन बाँकी छ।
सोमबारका लागि सर्लाही ४ मा क्षेत्रीय अधिवेशन तोकिएको थियो । प्रतिनिधिहरू अधिवेशनस्थलतिर जाँदै गर्दा प्रदेश अधिवेशन नै स्थगित भएको जानकारी आएको हो ।