नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार सिफारिस गर्न पार्टीका तल्ला निकायलाई निर्देशन दिएको छ।

महामन्त्री गगन थापाले मंसिर ४ मा हुने चुनावका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ सम्भावित उम्मेदवारको नाम सिफारिस गरी पठाउन निर्देशन दिएका हुन्। थापाले बिहीबार पार्टीका तल्ला समितिलाई परिपत्र पठाएका थिए।

पार्टीका तल्ला समितिले बैठक गरी सम्भावित उम्मेदवारको नाम भदौ १८ भित्र प्रदेश कार्यसमितिमा पठाउनुपर्नेछ। प्रदेशले प्राप्त नाम रायसहित भदौ २० मा केन्द्रमा पठाउनुपर्नेछ।

यसरी उम्मेदवार सिफारिस गर्दा २०७४ सालको चुनावमा प्रदेश र प्रतिनिधि सभामा समानुपातिकतर्फ निर्वाचित भएका व्यक्तिलाई सिफारिस नगर्न पनि कांग्रेसले निर्देशन दिएको छ।

कांग्रेसले सत्ता गठबन्धनसँग तालमेल गरेर चुनावमा जाने निर्णय गरेकोले गठबन्धनका अन्य दलले उम्मेदवारी दिएका ठाउँमा कांग्रेसबाट उम्मेदवार नहुने पनि अहिले नै प्रष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *