नेपाली कांग्रेसका नेता नरहरि आचार्यले प्रदीप पौडेलको नेतृत्वमा रहेको टिमले काठमाडौं क्षेत्र नम्बर ५ को विकास गर्न सक्ने बताएका छन्।

मंसिर ४ मा हुने चुनावका लागि पौडेल सत्ता गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवार छन्।

लोकतान्त्रिक खेलकुद संघले आइतबार गरेको खेलाडी सम्मान तथा शुभकामना कार्यक्रममा पुगेका नरहरिले पौडेल नेतृत्वमा युवाहरूको टिमले काठमाडौं ५ को विकास गर्न सक्ने बताए।

‘यो क्षेत्रमा युवाहरूको टिम बलियो छ। यो टिमले जित्यो भने मात्र काठमाडौं ५ मा विकासका लागि थप ढोका खुल्न थाल्छन्,’ आचार्यले भने।

कांग्रेसले सार्वजनिक गरेका संकल्प पत्रमा उल्लेख एजेन्डा कार्यान्वयन गर्न पनि पौडेलले चुनाव जित्नुपर्ने उनले बताएका थिए। ‘कांग्रेसका संकल्प पत्र कार्यान्वयन गर्न पाँच वर्ष प्रदीपले घच्घच्याउनुहुन्छ,’ उनले भने।

उनले चुनावी गठबन्धनप्रति जिम्मेवार हुन र गठबन्धनका उम्मेदवार जिताउन पनि कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए। ‘यो गठबन्धन कांग्रेसले खोजेर बनेको होइन, परिस्थितिले बनेको हो,’ उनले भने, ‘त्यसैले जिम्मेवार भएर सबैजना चुनावी तयारीमा जुटौं।’

लोकतन्त्रको रक्षा कांग्रेसले मात्र गर्न सक्ने पनि उनको भनाइ थियो।

आचार्य करिब पाँच वर्षदेखि स्वास्थ्यलाभ गरिरहेका छन्। उनी राजनीतिक कार्यक्रममा खासै देखिएका थिएनन्। युवाहरू नेतृत्वमा आउनुपर्छ भन्दै आचार्य लामो समयपछि सार्वजनिक कार्यक्रमहरूमा देखा पर्न थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *