नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको प्रणालीलाई बलियो बनाउने गरीमात्रै संविधान संसोधन हुने बताएका छन्।

बुधबार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि पत्रकाहरूसँगको कुराकानीमा महामन्त्री शर्माले मुलुकले अख्तियार गरेको प्रणालीलाई बलियो बनाउनेगरी मात्रै संविधान संसोधन हुने बताएका हुन्।

मुलुकलाई समावेशीता सहितको संघीय लोकतान्त्रिक गणतन्त्र र जे प्रणाली मुलुकले अख्तियार गरेको छ त्यो निर्माण गर्दा नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको पनि उनले बताए।

‘नेपाली कांग्रेस सामेल भएर हुने कुनैपनि संसोधनको प्रक्रियाको सन्दर्भमा अन्य कुराको जेजे आशंका गर्नुस्, अन्य कुरामा अविश्वास गर्नुस्। कांग्रेससँग असहमति राख्नुस्,’ उनले भने, ‘तर के कुरामा कांग्रेसप्रति कहिल्यै शंका नगरे हुन्छ भने संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीता सहितको जे प्रणाली छ। त्यो प्रणालीलाई बलियो बनाउने गरी मात्रै संसोधन हुन्छ। त्यो भन्दा दायावायाँ हुँदैन।’

उनले सरकार चार महिनामै बदलिने विषय निश्चय नै सुखद नरहेको समय र परिस्थितिको माग भएको बताए। आम नागरिक पंक्तिमा पनि दुई ठूला दल मिलेर स्थिरता दिउन्, अर्थतन्त्रको चुनौतीलाई सामना गरून्, संविधानका बारेका कम्प्लिकेसको बारेमा जे जस्ता कुराहरूको चर्चा छ नागरिकको भावना बमोजिम त्यसलाई सम्बोधन गरून् भन्ने चाहना भएकाले त्यसलाई सम्बोधन गर्ने प्रयत्न गरिएको बताए।

‘त्यो भन्दैमा चुनौती छैन भन्ने होइन। संविधान संसोधन गर्न पर्‍यो भने कांग्रेस र एमालेको गणितले मात्रैले पुग्दैन। दुई तिहाई चाहिन्छ,’ उनले भने।

एमालेले आज साँझसम्म सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको पनि उनले बताए। त्यसपछि प्रधानमन्त्रीलाई दुइटा विकल्प हुने उनको भनाइ छ।

‘उहाँले जुन विकल्प रोज्दै गर्दा नयाँ कोर्समा राजनीति बढ्दैछ,’ उनले भने।

महामन्त्री शर्माले नयाँ बन्ने सरकारले पनि भ्रष्टाचारविरूद्ध कदम चाल्ने बताए।

‘साथीहरूलाई के लागेको होला भने; भ्रष्टाचारको फाइल खोल्दै थियौं। त्यसकारण सरकारबाट हटाइयो। अहिले पनि हुनुहुन्छ त गृहमन्त्री। आज साँझसम्म गृहमन्त्री हुनुहोला, प्रधानमन्त्रीले राजीनामा दिनुभयो भने। नदिनुभएमा एक महिना होला,’ उनले भने।

भ्रष्टाचारलाई नियन्त्रण गर्ने सम्बन्धमा सबैभन्दा पहिले बलियो कानुनहरू बनाउने कांग्रेस रहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *