२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले कांग्रेस सुधारका लागि विरासतमा फर्कनु पर्ने बताएका छन् ।
आफ्नो बिरासत बिर्सिएर कम्युनिस्टहरूको पछि लाग्दासम्म कांग्रेस नसुध्रने र मुलुक पनि नबन्ने उनको भनाइ छ ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उनले भने, ‘नेपाली कांग्रेस अहिले कम्युनिस्टको मुद्दा बोकेर हिँडेको छ । कम्युनिस्टसँग नटासिइँ एकपाइला हिँड्न नसक्ने भएको छ । अब कांग्रेसलाई कम्युनिस्टबाट मुक्त बनाउनुपर्ने भएको छ । चारतारे झण्डा लिएर एक्लै चुनावमा जान सक्ने कांग्रेस बनाउनुपर्ने भएको छ ।’
उनले पार्टीमा सुधार गरेपछि अहिले आशा गरेको नेतृत्वले पार्टी र देशलाई नै अघि बढाउन सक्ने भन्दै उनले बिग्रिएको कांग्रेसले देश बचाउन नसक्ने बताए ।
‘कांग्रेस विरासतमा फर्कियोस् । कांग्रेस अहिले कम्युनिस्ट नबोकी एक पाइला हिँड्न नसक्ने भएको छ । यो अधिवेशनले कम्युनिस्टमुक्त कांग्रेस बनाओस्,’ उनले भने, ‘नीतिगत, कार्यक्रमगत र नेतृत्वगत परिवर्तन गरेर मात्र कांग्रेसलाई नयाँ बनाउन सकिन्छ ।’
विशेष महाधिवेशनमा सहभागी नभएर पार्टीका शीर्ष नेताहरूले ऐतिहासिक भूल गरेको उनको भनाइ छ ।
‘यहाँ नआएका नेताले ऐतिहासिक भूल गरेका छन् । यो भूल नदोहोर्याउनुस् भोलि बन्दसत्रमा आउनुहोला,’ उनले भने ।
