काठमाडौं । नेपाली कांग्रेसले डा. गोविन्द केसीले राखेका मागहरु जायज रहेको भन्दै ऐक्यबद्धता जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले डा. केसीको मागमा समर्थन जनाउँदै कांग्रेसले औपचारिक रुपमा विज्ञप्ति जारी गरिसकेको बताए । तर पनि केन्द्रीय कार्यसमिति बैठकबाटै थप निर्णय गरी ऐक्यबद्धता जनाउने तयारी भइरहेको उनले बताए ।
तर कोरोना संक्रमण जोखिमका कारण भोलि (सोमबार) बस्ने भनिएको केन्द्रीय कार्य समितिको बैठक बस्ने/नबस्ने सम्बन्धमा आजै पार्टीले निर्णय गर्ने पनि उनले बताए । कार्यसमिति बस्नुअघि आज (आइतबार) का बोलाइएको पदाधिकारी बैठक भने स्थगित भइसकेको उनले बताए ।
केन्द्रीय कार्यसमिति बैठक बस्ने/नबस्ने सम्बन्धमा सबै कार्यसमिति सदस्य र सचिवालय सदस्यहरुको पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्रै निर्णय हुने पनि शर्माले स्पष्ट पारे । डा. केसीले विगतदेखि नै जायज माग राख्दै आएको र कांग्रेस नेतृत्वको सरकारका पालामा भएका सम्झौता कार्यान्वयन भए अधिकांश माग पूरा हुने उनले बताए । पछिल्लो समय पीसीआर परिक्षण बढाउने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सन्दर्भमा नयाँ जायज माग राखेकाले सरकारले तत्काल वार्ता गरी सुनुवाइ गर्नुपर्ने शर्माको भनाइ छ ।