नेपाली कांग्रेसले संवैधानिक परिषद्को गरिमलाई अवमूल्यन नगर्न सरकारलाई सचेत गराएको छ। साथै लोकतान्त्रिक व्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्त्व, मर्म एवं मूल्य हुने स्मरण नेपाली कांग्रेसले गरेको छ।
नेपाली कांग्रेसका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषद्को गरिमालाई निरन्तर अवमूल्यन गर्दै आएको सर्वविदितै छ। लोकतान्त्रिक राज्य व्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्त्व, मर्म एवं मूल्य हुन्छ र हुनुपर्दछ भन्ने सरकारले नबुझ्नु दुःखद त छ नै लोकतान्त्रिक पद्धतिका लागि सुखद संकेत होइन।’
संवैधानिक निकायहरूको गठनमा लामो समय ढिलाइ गरिएको र अध्यादेशमार्फत् संवैधानिक परिषद्कै औचित्य समाप्त पार्ने असफल षड्यन्त्र पनि यस बीचमा गरिएको ठहर नेपाली कांग्रेसले गरेको छ।
‘नेकपा सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्तिहरु गर्ने विषयमा जुन रुपमा आफूलाई संलग्न गरायो, त्यसबाट यसको बचेको गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्दत रहेको पुष्टि भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
संवैधानिक परिषद् एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले व्यवस्था गरेको प्रबन्ध र पद्धतिभन्दा बाहिर गएर कार्य नगर्न नेपाली कांग्रेसले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सजग गराउँदै सार्वजनिक रुपले अपील र आग्रह गरेको छ।