नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकोमा आपत्ति जनाएका छन्।
सभापति शेरबहादुर देउवाका पक्षमा १४९ जनाको हस्ताक्षर पेश गरिएको उल्लेख गर्दै कोइरालाले संविधानको धारा ७६ (५) अनुसार सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको बताए।
‘प्रधानमन्त्री र मन्त्रिपरिषदको सिफारिसमा गैरसंवैधानिक तवरले प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपतिको विज्ञप्तिको विरोध गरी देशलाई अन्यौलतातर्फ जानुबाट बचाउन र संविधानको रक्षा गर्न सबैमा अपिल गर्दछु,’ आज विज्ञप्ति निकालेर उनले भने।
प्रतिनिधि सभा विघटन गरेर राष्ट्रपति र प्रधानमन्त्रीले जनताको अभिमतमाथि कुठाराघात गरेकोसमेत उनले बताए।
कोरोना महामारीका बेला मुलुकलाई गैरसंवैधानिक तवरबाट निर्वाचनमा धकेलेकोमा उनले आपत्ति जनाएका छन्।