प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठकले यो वर्षभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार बेलुकी ८ बजेर २५ मिनेटमा पद तथा गोपनीयताको सपथग्रहण गरेपछि सिंहदरबारमा देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठक बसेको थियो।
पाँच सदस्यीय मन्त्रिपरिषद बैठकले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सरकारको प्रवक्ता तोक्ने निर्णय पनि गरेको छ।
पहिलो बैठकको निर्णयबारे जानकारी दिँदै मन्त्री कार्कीले असोज मसान्तभित्र एकतिहाइ र चैतभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय भएको बताए। कोरोनाविरूद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भक्ता एक साताभित्र उपलब्ध गराउने पनि मन्त्रिपरिषदले निर्णय गरेको उनले जानकारी दिए।
बैठकले कोरोना लगायत विभिन्न प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेको उनले बताए।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेश गरेको थियो। त्यसैअनुरूप राष्ट्रपति कार्यालयले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गरेको हो।
संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीको नियुक्ति भए पनि राष्ट्रपति कार्यालयले उक्त कुरा उल्लेख नगरी नियुक्तिपत्र जारी गरेपछि विवाद उत्पन्न भएको थियो। उक्त भाषा परिमार्जन गर्नुपर्ने भन्दै साँझ ६ बजे राखिएको सपथग्रहणमा देउवा सहभागी भएका थिएनन्।
भाषा सच्याएर संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्ति भएको व्यहोरा थप्न राष्ट्रपति कार्यालय सहमत भएपछि मात्र देउवाले सपथ लिएका थिए।
सपथलगत्तै सिंहदरबार गएर देउवाले सरकारको कार्यभार सम्हालेका हुन्। पहिलो चरणमा उनले आफूसहित पाँच सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् जसमा कांग्रेसबाट दुई जना र माओवादी केन्द्रबाट दुई जना मन्त्री छन्।
कांग्रेसबाट कानुनमन्त्री कार्कीसहित बालकृष्ण खाँड गृहमन्त्री भएका छन् भने माओवादीबाट जनार्दन शर्मालाई अर्थ मन्त्रालय र पम्फा भुसाललाई ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको छ।
चारै जना मन्त्रीलाई राष्ट्रपति भण्डारीले मंगलबारै सपथ गराएकी छन्।