कांग्रेसले महाधिवेशनमा देशभित्रका सबै राष्ट्रिय राजनीतिक दलहरूलाई निम्तो गरेको छ । आगामी शुक्रबारदेखि हुने महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेसले देशी र विदेशी विभिन्न राजनीतिक दलहरूलाई निमन्त्रणा गरेको हो ।
सहमहामन्त्री प्रकाशशरण महतले राष्ट्रिय दलको मान्यता पाएका सबै दलहरूलाई निम्तो गरिएको जानकारी दिए ।
‘सबै राष्ट्रिय दलका प्रमुखहरूलाई बोलाएका छौं’ महाधिवेशनकालागि गठित विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका महतले इकान्तिपुरसँग भने, ‘विदेशी पाहुनाहरूको पनि टुंगो लाग्दैछ । निम्तो त धेरैलाई पठाएका छौं। तर, आउने निश्चित भएको छैन ।’
उनले भारतीय जनता पार्टी (बीजेपी) र कांग्रेस आईले आउने सन्देश पठाएका छन् ।
‘कोभिडको नयाँ भेरियन्ट आएको छ, त्यसैको प्रभावले धेरै पाहुनाहरू आउन सक्ने अवस्था छैन, जोखिम छ,’ उनले भने ।
कांग्रेसले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायत राजनीतिक दलहरूलाई महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिएको छ ।
कांग्रेस महाधिवेशनको उद्घाटन सत्र आगामी शुक्रबार दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।