राजनीतिमा पाकाहरूको होस र युवाहरूको जोसको समन्वय भए मात्र सार्थक तथा फलदायी नेतृत्व जन्मिन सक्छ । कांग्रेसमा नेतृत्वको खडेरी देखिएको दुरवस्थालाई चिर्न गगन, विश्वप्रकाशजस्ता युवाहरूलाई नेतृत्वमा पुर्‍याउन सक्नुपर्छ ।

यतिखेर राजनीतिक दल र तिनका नेताहरू चर्को राजनीतिक दौडधुपमा व्यस्त छन् । एमाले र राप्रपाले आफ्नो महाधिवेशनको औपचारिकता पूरा गरिसकेका छन् भने कांग्रेस, माओवादीलगायत दलहरू त्यसको तयारीमा दौडिरहेका छन् । पछिल्लो समयको राजनीतिमा आमजनताले नवीन सोच र कार्यशैली बोकेका नयाँ अनुहार र नयाँ पुस्ताको खोजी गरिरहेका छन् । यसको ज्वलन्त उदाहरण पार्टीहरूको तल्लो तहका अधिवेशनमा युवा उम्मेदवारले पाएको मत नै हो ।

कांग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मा, अजय चौरसिया, धनराज गुरुङ, रञ्जित कर्ण, गुरु घिमिरे, रामहरि खतिवडा, चन्द्र भण्डारी, प्रदीप पौडेल, सुरेन्द्र पाण्डे, किरण यादव, बद्री पाण्डे, डा. डिला संग्रौला आदि युवा हस्ती, एमालेबाट योगेश भट्टराई, गोकर्ण विष्ट, डा. राजन भट्टराई, एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री, राजेन्द्र राई, मेटमणि चौधरी र माओवादी केन्द्रबाट जनार्दन शर्मा, लेखनाथ न्यौपानेजस्ता अनुहारको बढ्दो महत्वबाट जनआकर्षणलाई नाप्न सकिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा अध्यक्ष पदमा राजेन्द्र लिङदेनले विजयले सो पार्टीभित्र र बाहिर पनि एकनासले सकारात्मक आकर्षण र चर्चा पाएको छ । तर, के राप्रपाका जस्तै अन्य पार्टीका कार्यकर्ताले पनि यस्तै विवेक पुर्‍याउन सक्लान् त ? प्रश्न उठ्नु स्वाभाविक छ । यस आलेखमा वर्तमान समयका सर्वाधिक चर्चित र लोकप्रिय मानिएका गगन थापा, विश्वप्रकाश शर्मा आदि युवा नेताहरूको राजनीतिक गतिविधिलाई उदाहरण बनाएर विश्लेषण गर्ने जमर्को गरिएको छ ।

कांग्रेसको महाधिवेशनमा सिंगो मुलुकदेखि सामाजिक सञ्जालसम्म, आमसभाका प्रमुख आकर्षणका रूपमा होस् वा सञ्चार माध्यमले गर्ने खोजीमा होस्, गगन थापा राष्ट्रिय राजनीतिमा सर्वाधिक लोकप्रिय युवा नेता र सेलिब्रेटीका रूपमा स्थापित भएका छन् भन्नु अतिशयोक्तिपूर्ण अभिव्यक्ति होइन । कांग्रेसको आसन्न महाधिवेशनमा थापाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेपछि जनस्तरमा एउटा सहज प्रतिक्रिया सुनिन्छ– उनको प्रतिद्वन्द्वी त को नै होला र !

त्यसो त राजनीतिमा युवाको नेतृत्व मात्र प्रभावशाली हुन्छ, प्रौढ उमेरका नेताको नेतृत्व निकम्मा हुन्छ भन्न खोजिएको भने पक्कै पनि । कांग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मा ‘एज (उमेर) होइन एजेन्डाको कार्यान्वयन प्रधान कुरा हो’ भन्नुहुन्छ । जुन बिल्कुलै सही हो । राजनीतिमा उमेरको सीमा र जन्मको बन्धन रहँदैन । २०५० सालतिर सर्वमान्य नेता गणेशमान सिंहले राजनीतिबाट सन्न्यास लिने कुरा गर्दा कृष्णप्रसाद भट्टराईले भन्नुभएको थियो– तपाईंले हामीलाई छोडेर सन्न्यास लिन्छु भन्न पाउनुहुन्न, तपाईंले जसरी पनि हामी सबैलाई नेतृत्वको छहारी दिइरहनुपर्छ ।

विश्वमा जति पनि प्रभावशाली राजनेताहरू आफ्नो सामथ्र्य, शक्ति र लोकप्रियताको सर्वोच्च तहमा पुगे, प्रौढावस्थामै पुगेका हुन् । आधुनिक सिंगापुरका निर्माता ली क्वान यु सन् १९५९ मा सत्तारुढ हुँदा ३६ वर्षका थिए, करिब गगनजीकै उमेरका । उनी सत्तामा ३१ वर्ष बसे र ६७ वर्षको उमेरमा सत्ताबाट बिदा भए । पहिलोपटक स्नायुसम्बन्धी समस्याका कारण खुट्टा अलिक कमजोर भएपछि उनले भनेका थिए, ‘मान्छे ह्विल चेयरमा बसेर पनि नेतृत्वको योगदान पुर्‍याउन सक्छन् भने मेरा त दुवै खुट्टा ठीकै छन् । त्यसैले, म अझै मुलुकका लागि योगदान पुर्‍याउन सक्छु ।’ ली क्वान युको मान्यतामा बुढ्यौली आपैmँमा समस्याभन्दा आत्मबल नहुनेहरूको बहाना मात्र हो ।

कांग्रेसभित्र गगन थापालगायत उल्लिखित अन्य पार्टीका होनहार युवा नेताहरूको लोकप्रियता एकथरीलाई औडाहाको विषय भएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई नै गगनको व्यक्तित्व भयावह साबित भइरहेको छ । मञ्चमा उभिएर १० मिनेट पनि बोल्न नसक्ने, बोल्न थालेपछि दर्शक–श्रोताबीच अनियन्त्रित होहल्ला मच्चिने देउवाको ‘सामथ्र्य’का लागि प्रखर युवानेता, कुशल वक्ता, उच्च वैचारिक क्षमता भएका गगनजस्ता नेता आँखाको कसिंगरझैँ हुनु अन्यथा होइन ।

आफूले पाएको सभापति पद कायम राख्न र पार्टीमा आफ्नो एकछत्र हैकम चलाउन कांग्रेसका प्रदेश र जिल्ला अधिवेशनका ठाउँठाउँमा कांग्रेस कार्यकर्ताकै बीचमा कुटाकुट, खुकुरी हानाहान, गालीगलोज र गोली प्रहारजस्ता हर्कत पार्टी नेतृत्वकै इसारामा भएकामा शंका छैन । ०५२ सालमा उनले सत्ता जोगाउन सांसदलाई करोडौँ बाँडेर आफ्नो पक्षमा लिने, सांसदलाई होटेलमा थुनेर राख्ने, मुलुकलाई ठगेर भन्सार मिनाहामा बिलासी गाडी झिकाउन दिने जस्ता यावत् शासकीय विकृति आज कांग्रेसमा पार्टी नेतृत्वले आफ्नो पदलाई निरन्तरता दिन गृह मन्त्रालयलाई परिचालन गरी पुनर्जीवित गरिरहेका छन् । यसरी पार्टी नेतृत्व चयनका लाई भइरहेको प्रजातान्त्रिक अभियानमा सत्ताको नांगो र निर्लज्ज दुरुपयोग भइरहँदा पनि कांग्रेसभित्रकै अर्को पक्ष भने दासजस्तै चुपचाप रमिता हेरिरहेको छ ।

सबै पार्टीमा मात्रात्मक रूपमा नयाँ र पुरानो पुस्ताबीच द्वन्द्व रहेको यथार्थ यसै पनि बुझ्न सकिन्छ । नैतिकवान्, प्रतिभाशाली, बुद्धि र विवेकको धनी व्यक्तित्वलाई राजनीतिमा उठ्न नदिने गुनासो व्यापक मात्रामा सुनिने गर्छ । अझ कतिपय पार्टीमा शीर्ष नेतृत्वको आड र अभयदानकै कारण पार्टीद्रोही तत्वहरूले प्रश्रय पाइरहेका छन् । युवा नेतृत्वले यस्ता कुप्रवृत्तिलाई पार्टीबाट निर्ममतापूर्वक सामना र परास्त गर्न सकेनन् भने स्थिति अझ जटिल र भयावह हुँदै जाने पक्का छ ।

राजनीतिमा पाकाहरूको होस र युवाहरूको जोसको समन्वय भए मात्र सार्थक तथा फलदायी नेतृत्व जन्मिन सक्छ । कांग्रेसमा नेतृत्वको खडेरी देखिएको दुरवस्थालाई चिर्न गगन, विश्वप्रकाशजस्ता युवाहरूलाई नेतृत्वमा पुर्‍याउन सक्नुपर्छ । ०६४ देखिका निर्वाचनमा कांग्रेस हारेको कारण जनाधार गुमाएर होइन, सही नेतृत्वको अभाव भएकाले हो । आज जो नेतृत्वमा छन्, तिनलाई हेरेर जनता भोट हाल्न इच्छुक देखिन्नन् । त्यसैले ०७४ को निर्वाचनमा कांग्रेसले एमालेकै हाराहारीमा मत पाउँदा पनि निकै थोरै सिटमा मात्र विजयी भयो । गतिशील र समर्पित नेतृत्व हुन्थ्यो भने कांग्रेसलाई सामान्य बहुमत हासिल गर्न गाह्रो देखिन्न ।

गगनजीले ५५ वर्षमा सन्न्यास लिने कुराले इमानदार र नैतिकवान् आमजनता तथा पार्टीका कार्यकर्तामध्ये कसैलाई पनि सन्तुष्ट बनाएको थिएन । बरू यस घोषणाका कारण राजनीतिमा घुसपैठ गरेका संदिग्ध व्यक्तिहरू र भ्रष्टाचारमा मालामाल हुन पाइरहेकाहरूचाहिँ खुसी भए । पार्टीमा नैतिक राजनीति गर्नेहरूले नै राजनीति छोडिदिए भने अनैतिकता र अपराध मच्चाउनेहरू भाग्यमानी ठहरिन्छन् । त्यस्तो अवस्थामा गगनजीजस्ता युवानेताको सन्न्यासलाई पलायनको अर्थमा बुझिन्छ ।

आज पार्टीहरूभित्र अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकरण गर्ने प्रवृत्ति खतरनाक गतिमा बढिरहेको छ । राजनीतिमा खर्च हुने धन कालो हो कि वैध हो ? यस्तो धन कुन स्रोतबाट आएको हो ? भनेर न उम्मेदवार न त मतदाता कसैले अपवादका रूपमा समेत सोधेको थाहा छैन । पैसाको बोलवालाले विचार, मूल्य, मान्यता र नैतिकतामा आधारित राजनीतिलाई स्वाहा बनाइरहेको छ । लोकतन्त्र सीमित सुविधाभोगी र धमिलो पानीमा माछा मार्न सिपालुहरूका लागि मात्र फलिफाप सिद्ध भएको देखिन्छ । समाजको मध्यम तथा तल्लो वर्ग, गाउँघर ०४६ सालतिर जस्ता थिए, उस्तै छन्, बरु झन् उजाडिएका र सुनसान छन् ।

यस्तो विषाक्त वातावरणलाई स्वच्छतामा रूपान्तरण गर्न सबै पार्टीका युवाहरूको बेग्लै अभियान सुरु हुनुपर्छ । त्यसको नेतृत्व वा संयोजन युवाले नै गर्नुपर्छ । यसमा जति–जति ढिलो हुन्छ, अत्याचारीहरूको हौसला त्यति नै बढ्दै जान्छ । त्यसैले सबै पार्टीमा युवाशक्तिको एकता र ऐक्यबद्धताको वातावरण बनोस् । यसबाट राजनीतिमा विद्यमान विकृति, दुर्गन्ध र अराजकतालाई नियन्त्रण गरेर नयाँ पुस्तालाई अगाडि बढ्ने सुगम बाटो र ऊर्जा प्राप्त हुनेछ ।

युवाहरू राजनीतिक नेतृत्वको अग्रपंक्तिमा आए भने मुलुकले खोजेको परिवर्तन पाउँछ । बिदेसिएका युवाहरूले स्वदेशमै उद्यम सञ्चालन गर्ने, रोजगारी पाउने र मुलुकको अर्थतन्त्रलाई गुल्जार गर्ने अनुकूल वातावरण पाउँछन् । अधिकांश युवाहरू बिदेसिएको मुलुकमा अराजकताले हौसला पाउँदो रहेछ भन्ने अनुभव हामी नै गरिरहेका छौँ । यस्ता धेरै दृश्य–अदृश्य कारक तत्वलाई ठीक ठेगानमा ल्याउन पनि गगनजीलगायत युवापुस्ताका सबै नेताहरू आ–आफ्नो स्थान र पहिचानबाट आँटिलो र क्रियाशील हुनुपर्ने राष्ट्रको आवश्यकता हो । सबै पार्टीका होनहार युवा नेताहरूले अग्रपंक्तिमा आएर नेपाललाई स्वर्णिम युगमा पुर्‍; याउनु जरुरी छ ।
#बद्रीनरसिंह केसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *