नेपाली कांग्रेसका युवा नेता गगन थापाले पूर्व संस्थापनलाई तत्काल सहमतिमा पदाधिकारीसहितको प्यानल घोषणा गर्न आग्रह गरेका छन्। नेता शेखर कोइरालाले सम्पादकहरूसँग गरेको छलफलमा नेता थापाले अब दुई दिनमात्रै बाँकी रहेको भन्दै तत्काल सहमतिमा सभापतिसहितका पदाधिकारीका उम्मेदवार टुंग्याउन आग्रह गरेका हुन्।

नभए आफूहरूले नै पदाधिकारीको प्यानल नै घोषणा गरिदिने चेतावनी दिएका हुन् । ‘संविधान जोगाउन र नयाँ तानाशाह आउन नदिन नेपाली काङ्ग्रेसमा नयाँ नेतृत्व आउन जरूरी छ। त्यसैले गणितमा पनि ध्यान दिनु पर्छ’ सम्पादकहरूसँगको छलफलमा थापाले भने, ‘त्यसैले नेतृत्वले आजको छलफल बाट एउटै नेतृत्व बनाओस् ।

अब दुई दिनको मात्रै समय छ। नत्र हामी युवा मिलेर को सभापति हुने हो भन्ने निर्णय गर्छौ र प्यानल घोषणा गर्छौ । को को केमा उठ्ने भन्ने निर्णय गर्छौ । यो कामको तयारी पनि सँगै भैरहेको छ ।’

छलफलमै रहेका चन्द्र भण्डारीले गगनको कुरामा सहमत जनाउँदै २ जनामा नाममा सहमति जुटिसकेको बताएका थिए। अर्का केन्द्रीय सदस्य धनराज गुरुङले पनि तत्काल सहमति नभए आफूहरूले पदाधिकारीसहितको प्यानल घोषणा गर्ने बताए। कांग्रेसमा पूर्व संस्थापनबाट रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंह सभापतिका मुख्य दाबेदार छन् ।

अर्कोतिर सभापतिका लागि शेरबहादुर देउवा उठ्दैछन् । तर, उनीविरुद्ध उठने पौडेल पक्षको सर्वमान्य नेता कोही छैन। यसैले पौडेल पक्ष दबाबमा छ । ६ प्रदेशमध्ये संस्थापनले ४ र पौडेल पक्षले दुई प्रदेश सभापति जितेका छन् ।सम्पादकहरूसँगको छलफललगत्तै नेता कोइरालासहित रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा। शशांक कोइराला र प्रकाशमान सिंहबीचको छलफल सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *