नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा कांग्रेसबाट मन्त्री बन्ने तीन जनाको नाम लगभग टुंगो लागेको छ । कांग्रेसबाट अहिलेसम्म प्रकाशमान सिंह, रमेश लेखक र आरजु राणा देउवा मन्त्री बन्ने लगभग पक्का भएको कांग्रेस स्रोतको दाबी छ ।

ओली नेतृत्वको सरकारमा कांग्रेसको भागमा ९ मन्त्रालय पर्ने मोटामोटी सहमति भएको छ । ‘कांग्रेसको भागमा ९ र एमालेको भागमा ८ वटा मन्त्रालय पर्ने समझदारी भएको बुझेका छौं । कांग्रेसबाट प्रकाशमान सिंह, रमेश लेखक र आरजु राणाको नाम मात्रै टुंगो लागेको छ,’ कांग्रेसका एक नेताले लोकान्तरसँग भने, ‘उहाँहरूबाहेक अन्य धेरै सांसद मन्त्रीको लागि दाबेदार छन् तर, नाम टुंगो लागेको छैन । आज बस्ने कार्यसम्पादन समितिको बैठकपछि सभापतिजीले नै अन्तिम नाम टुंगो लगाउनुहुन्छ ।’

अहिलेसम्म सिंहको नेतृत्वमा सरकारमा जाने कांग्रेसको तयारी छ । तर, उनले रक्षा वा संघीय मामिला कुन मन्त्रालय लिने भन्ने टुंगो नलागेको स्रोत बताउँछ । लेखकले गृह र आरजुले परराष्ट्र मन्त्रालयको नेतृत्व गर्ने लगभग टुंगो लागेको कांग्रेस स्रोतले दाबी गर्यो । देउवा पत्नी आरजु पहिलोपटक मन्त्री बन्न लागेकी हुन् ।

आइतबार साँझ मात्रै केपी ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको तयारी छ । शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत पाउन नसकेपछि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । उनको विपक्षमा १९४ मत परेको थियो । लगत्तै राष्ट्रपतिले सरकार गठनको लागि आह्वान गरेका थिए । अहिले उनैले काम चलाउ सरकारको नेतृत्व गरिरहेका छन् ।

प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा परेको १९४ मत मध्ये कांग्रेसको ८८ र एमालेको ७८ सांसद थिए । यिनै दुई दलले १६६ मतसहित सरकारमा दाबेदारी गरेका हुन् ।

कांग्रेस र एमालेबीच पहिलो दुई वर्ष केपी ओली र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने समझदारी बनेको छ । ​

Leave a Reply

Your email address will not be published. Required fields are marked *