कांग्रेसले ९ मन्त्रालय पाउँदा सिंह, लेखक र आरजुबाहेक थुप्रै सांसद मन्त्रीका दाबेदार छन् । कांग्रेसबाट मन्त्रीका लागि संस्थापन र इतर समूहबाट दाबेदार देखिएका हुन् । कांग्रेसले ९ वटा मन्त्रालय पाए इतर पक्षले बढीमा तीनवटा पाउनेछ ।
कोशीबाट दीपक खडका र रामहरि खतिवडा मुख्य दाबेदार छन् । खड्का डा. शशांक कोइराला निकटका हुन् । खतिवडा देउवानजिक छन् । मधेशबाट अजयकुमार चौरसिया र तेजुलाल चौधरी दाबेदार छन् । चौरसिया संस्थापन निकटका हुन् ।
बागमती प्रदेशबाट युवा नेता प्रदीप पौडेल, उदयशमशेर राणा र रामनाथ अधिकारी दाबेदार छन् ।
गण्डकीबाट जीवन परियार र शंकर भण्डारी दाबेदार रहेको एक नेताले जानकारी दिए । संस्थापन इतरबाट चन्द्र भण्डारी र हृदयराम थानी मन्त्रीका दाबेदार छन् । बद्रि पाण्डे, वीरबहादुर बलायर, ईश्वरी न्यौपाने र किशोरसिंह राठोर पनि मन्त्रीका दाबेदार हुन् ।
कांग्रेसमा यसपटक नयाँलाई मन्त्रीमा अवसर दिनुपर्ने माग छ । अघिल्लोपटक मधेश, दलितसहितको प्रतिनिधित्व नभएको भन्दै यससपटक समावेशी बनाउन पनि दबाब भएको एक नेताले बताए ।
यसैबीच, सरकारमा सहभागी हुने मन्त्री छान्ने मापदण्डसहित विषयमा छलफल गर्न कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दैछ । आज २ बजे बस्ने बैठकले सरकारमा सहभागी हुने मन्त्री चयनको मापदण्डसहित विषयमा छलफल गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । कांग्रेसले पाउने संख्या र यसमा समूहको कति हो भन्ने पनि प्रष्ट नहुँदा शेखर कोइराला पनि अलमलममा रहेको उनी निकटका एक नेता बताउँछन् ।
‘कांग्रेसले पाउनेमा आफूहरूको हिस्सा कति हो भन्ने प्रष्ट नहुँदा शेखर समूह पनि अलमलमै छ,’ एक नेताले भने, ‘कार्यसम्पादन समितिको बैठकपछि एउटा आकार आउँछ । त्यसपछि भोलिसम्म टुंगिने आशा गरेका छौं ।’