काठमाडौँ — पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी सुपुत्री एवम् कांग्रेस नेता सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा शेखर कोइरालालाई सभापतिमा सहयोग गर्ने घोषणा गरेकी छन् । शुक्रबार शेखरको सचिवालय पुगेकी सुजातालाई शेखरले स्वागत गरेका थिए । सुजातालाई स्वागत गर्न कोइराला समूहका नेता कार्यकर्ताहरु समेत जम्मा भएका थिए ।

नेता शेखर कोइरालाले बहिनी सुजातालाई आफ्नो सचिवालयमा खादा ओढाएर स्वागत गरेका थिए । ‘शेखर दाले बोलाउनुभयो । अब म पनि आएँ,’ सुजाताले भनिन्, ‘हामी एकजुट भएर अघि बढेनौँ भने कोही पनि नरहने स्थिति भयो । त्यसकारण सबैले केही न केही त्याग गर्नुपर्छ भन्ने लागेर म अब शेखर दासँग जोडिएको छु । उहाँले धेरै मिहिनेत गर्नुभएको छ । अब उहाँलाई मेरो पनि साथ छ । अब शशांक पनि यहाँ आउनुहुन्छ । हामी मिलेर नै अघि बढ्छौँ । हामी एकजुट हुनैपर्छ । हाम्रो बुवाहरुले, हजुरबाहरुले जुन सपना देख्नुभएको थियो, हामीले त्यसलाई पूरा गर्नैपर्छ ।’

यसअघि ०७८ को मंसिरमा भएको कांग्रेसको १४ औँ महाधिवेशनमा शेखर सभापतिको उम्मेदवार थिए । तर सुजाता भने प्रकाशमान सिंहको समूहबाट उपसभापति उम्मेदवार बनेकी थिइन् । त्यसबेला अर्का नेता शशांक कोइरालाले सभापति शेरबहादुर देउवालाई सघाएका थिए ।

शेखर सचिवालय पुगेकी सुजाताले अबदेखि सातामा कम्तीमा पनि एक/दुई घण्टा शेखरको सचिवालयमा बिताउने बताएकी छन् । कार्यक्रममा सुजातालाई स्वागत गर्दै नेता कोइरालाले कांग्रेस कमजोर हुँदा मुलुकमा लोकतन्त्र नै कमजोर हुने स्थिति रहेको भन्दै कांग्रेसलाई बलियो बनाउन सबैले पहल लिनुपर्ने बताए ।

शुक्रबार बिहानै मात्रै महानगरपालिका सभापतिहरुसँग छलफल गर्दै समयमै महाधिवेशन हुनेमा शंका व्यक्त गरेका नेता कोइरालाले महाधिवेशन हुने वातावरण बनाउन जिल्लास्तरदेखि नै नेता कार्यकर्ताहरुले पहल गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *