काठमाडौं । भारतको स्तन्त्रता आन्दोलनमा पु¥याएको योगदानका खातिर जयप्रकाश नारायण, राममनोहर लोहिया र बीपी कोइरालालाई तिनताक उत्तिकै हैसियतको सम्मान रहेको संगत गर्नेहरु बताउँछन् । तर बिसं २०३३ सालतिर संस्थापनबाट बीपीलाई हतोत्साह गरियो । बीचमा कम्युनिष्टहरुलाई संरक्षण र प्रशिक्षण जारी राख्दै जीवनको उत्तराद्र्धतिर गिरिजाप्रसाद कोइरालालाई पनि नराम्ररी एक्ल्याइएको थियो । दक्षिणी छिमेकीको उक्त दोहोरो रणनीतिले उसलाई तत्कालीन मनोरञ्जन त राम्रैसँग गरायो । तर अन्तर्राष्ट्रिय कुटनीतिमा एउटा सानो मुलुकको सद्भावले पनि ठूलो अर्थ र महत्व राख्ने तथ्यलाई मान्ने हो भने भारतको यो रणनीति उसैलाई पनि निकै महंगो बन्दै गएको छ ।
नेपालप्रतिका यस्ता अनुदार र कतिपय माइक्रो म्यानेजमेन्टको अनावश्यक अभिरुची, चासो र अरुचीकर सद्भाव जनस्तरमा निकै आलोचित बन्न पुगेका थिए । भारतका यस्ता गतिविधिहरुले दक्षिण एसियाली मुलुकमा भारतलाई एक्ल्याएर सम्बन्धको घेराबन्दी गरिरहेको चीनलाई निकै ठूलो सफलता मिल्यो र अहिले उत्तरी छिमेकीसँग नेपालको बेग्लै किसिमको प्रगाढ सम्बन्ध स्थापित हुन पुगेको छ ।
पहिलाको दक्षिणी छिमेकीकै जस्तो शैलीमा राजनीतिक नेतृत्व, सरकारी निकाय, नीति निर्माता लगायत प्रमुख व्यापारिक स्थानहरुमा चीनको प्रभाव र पकड मजबूत बन्दै गएको छ । यतिसम्म कि सरकार निर्माण÷विघटनको सहयोगसम्म पनि प्राप्त हुन थालेको छ । नेपालमा रहेका चीनका कुटनीतिक प्रतिनिधिले नेताका घरघर गएर अशोभनीय ढंगले त्यस्तो खेलमा लागेको समाचारहरु समेत बाहिर आएका थिए । शौभाग्यवश, नेपाल श्रीलंकाजस्तो ठूला परियोजनाको ऋणको पासोमा अहिलेसम्म परिसकेको त छैन । तर कसैलाई थाहा नै नदिई बिना प्रतिस्पर्धा केही जलविद्युत आयोजना लगायत थुप्रै लाभका परियोजनाहरु चीनको हातमा सुम्पिइएका छन् । नेपालको लागि ती परियोजनाहरु कति फाइदाजनक छन् भन्ने विषय गौणप्राय छन् ।
आफ्ना आन्तरिक समस्या समाधानको लागि विदेशीको आमन्त्रण र सहयोग दाताका लागि पनि त्यति हितकर छैन । आन्तरिक गतिविधिहरुमा छिमेकीलाई सदुपयोग गर्दा हिजो जसरी जनस्तरमा भारतविरोधी भावना फैलिएको थियो, अहिले चीनविरोधी भावना रातारात विस्तार भैरहेको देखिन्छ । राणाकाल र पञ्चायतकालको उत्तराद्र्धतिर लिइएका यस्ता सहयोगहरु समेत प्रभावहीन बनेका थिए । तथापि बदलिएको बर्तमान शक्ति र सामथ्र्यका बीच ठूलै राजनीतिक परिवर्तन नभएसम्म विश्व शक्ति राष्ट्रको रुपमा उदाएको यो मुलुकसँगको नेपालको पछिल्लो सम्बन्धमा सुधार आउन कठिन छ । यस्तो असन्तुलित विदेश नीतिले नेपाललाई निकै ठूलो र महंगो दीर्घकालीन जोखिमतिर धकेलिदिएको छ । जोखिमको पहिलो शिकार जलविद्युत हुँदैछ ।
असफलता, अनियमितता र बिकृति
दुईतिहाई बहुमतको सरकारले चामत्कारिक बिकास र समृद्धिको चर्को नारा दिएको थियो । तर यथार्थमा ती खेलावालाको जादु जस्ता भएका छन् । उसले राखेको आर्थिक वृद्धिको लक्ष्य समेत कहिल्यै हासिल गर्न सकेन । आर्थिक गतिविधिहरु साँघुरिएका र राजस्व आम्दानीले सरकारी खर्च धान्न नसक्ने स्थिति उत्पन्न भएको छ । पछिल्लो समय त कोभिडको महामारीका बीच सरकारको काम गराई सर्बत्र आलोचित बन्न पुग्यो । महामारी नियन्त्रणको कदम चाल्न त के त्यही महमारीलाई व्यक्तिगत हितमा प्रयोग गर्न सरकारका मन्त्रीहरु नै उद्यत् भएर लागेको देखियो । सरकार घूस र भ्रष्टाचारमा चुर्लम्म डुबेको छ र राज्यको ढुकुटीको दोहन निर्विघ्न चलिरहेको छ । हरेक व्यवसायीसँग कमिशन र घूस लिएर अनियमितता गर्न छुट दिने, बजेट बन्नुअघि नै परिवर्तन हुने राजस्वका दरबारे सूचना चुहाई व्यक्तिगत लाभ लिने जस्ता काण्डैकाण्डले पूरै बद्नाम भएको छ ।
आवधिक चुनावको संवैधानिक मोडलबाट गठित सरकार छिमेकीको सहयोगमा ‘दीर्घकालीन स्थायित्व’तिर लोभिदै गएको हो कि भन्ने चिन्ता बौद्धिक समुदायबाट व्यक्त हुन थालेको छ ।
कमजोर प्रतिपक्षी भूमिका
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यस्तो बेला जागरुक र सचेत भै सरकारका बेथिति, विकृति र अनियमितताको सशक्त एवं ब्यापक विरोध गर्नुपर्नेमा सरकारभन्दा अझ निरीह देखिएको छ । सभापति शेरबहादुर देउवामाथि चर्चा गरिएका मुद्दाहरुको विरोध गर्न र सरकारको असन्तुलित विदेश नीति, आर्थिक अनियमितता, घूसखोरी, भ्रष्टाचार लगायत जल्दाबल्दा र विवादित मुद्दामा कडा प्रतिक्रियासम्म दिन सक्दैनन् । कर्मकाण्डी ढंगले एक थान विज्ञप्ति जारी गरेर टुंग्याइदिने बाहेक केही गर्न सकिरहेका छैनन् । उनको पार्टी सत्तामा पनि ओलीको सरकारमा जस्तै वेथिति र चरम अव्यवस्थापन छ । एउटा सही नेताको तर्कपूर्ण अडानले कसरी फरक पार्छ ? सन् १९६२ मा मुस्ताङको कोरे नाकामा भएको चिनियाँ सेनाको आक्रमण र सीमा अतिक्रमणबारे बीपीले लिएको अडानपछि चीनले माफी मागी क्षतिपूर्ति दिएको र उक्त आक्रमणप्रति असह्य हुने भन्दै आक्रामकरुपमा आएको नेहरुको प्रतिक्रियालाई निस्तेज पार्ने बीपीको तारिफयोग्य अडान यहाँ स्मरणयोग्य छ ।
सभापति देउवाको नेतृत्वमा चुनावमा जाँदा पार्टी धुलीसात भएको छ । बिसं २०६४ मा सम्पन्न संविधानसभाको चुनावमा पार्टीको लज्जाजनक पराजय भएपछि कम्युनिष्ट नेता माधवकुमार नेपालले समेत महासचिव पदबाट राजीनामा दिएका थिए । पछिल्लो संसदीय चुनावमा पार्टीको त्योभन्दा लज्जाजनक पराजयप्रति देउवाले नैतिक जिम्मेवारी समेत लिएनन् । पदत्याग्ने त परैको कुरा, पार्टीशक्तिमा टिकीरहन अहिले पनि अनेक दाउपेच गरिरहेका छन् ।
मुलुकको यस्तो बेहालका बीच एउटा स्वतन्त्र राष्ट्रको दीर्घकालीन रक्षार्थ छिमेकी दुई मुलुक लगायत बाँकी विश्वसँग पारस्परिक हितका आधारमा सन्तुलित सम्बन्ध राख्न सक्ने, मुलुकलाई आर्थिकरुपले समृद्धशाली बनाउने र हरेक क्षेत्रमा सही नेतृत्व दिन सक्ने दूरदर्शी नेतृत्वको खाँचो छ । कांग्रेसको आसन्न १४ औं महाधिवेशनले यस्तो चामत्कारिक र करिस्मेटिक नेतृत्व पाउला ?
नेतृत्वका आकांक्षी
पछिल्लो समय विश्वकै नेतृत्वमा ठूलो स्खलन आएको छ । अमेरिका, बेलायत, भारत, चीन मुख्य मुलुकहरुको नेतृत्वलाई हेर्ने हो भने उनीहरुले आफ्नो मुलुकलाई नियन्त्रणमा राख्न सकेको त देखियो तर चामत्कारिक नेतृत्व दिन सकेको देखिएन । कोभिडको महामारीका बीच विकसित भनिएका मुलुकका जनताले भटाभट ज्यान गुमाइरहेको र बचाउका लागि संसारलाई हल्लाउन सक्ने तागत छ भनिएका मुलुक र सरकार निरीह देखिएको तथ्यले यसलाई राम्रैसँग उजागर गरेको छ ।
नेपालमा पनि सरकारमा होस् या दलगत, यस्तै नेतृत्व देखिन्छ । प्राविधिक बहुमतले राज्यसत्ता अथवा पार्टीसत्ता नियन्त्रणमा लिएका तर मुलुकको समग्र प्रगतिको सही नेतृत्व एव प्रतिनिधित्व गर्न र मुलुकलाई सही मार्गमा डो¥याउन सकेको देखिँदैन । मुलुकलाई अग्रगामी दिशा दिन गरिएका थुप्रै राजनीतिक परिवर्तनहरु फगत ढोंग मात्र भएका छन् । नयाँ संवैधानिक व्यवस्थाप्रति पनि जनताको विश्वास धर्मराउन थालेको छ । यस्तो बेला पार्टीका संस्थापक बीपी जस्तो बहुआयामिक र करिस्मेटिक नेतृत्व आवश्यक भएपनि पाउन कठिन छ । समकालीन नेतृत्वमध्ये उत्कृष्ट छनोट गर्ने विकल्प मात्र उपलब्ध छ । बहुआयामिक र करिस्मेटिक नेतृत्व उपलब्ध नभएपनि समकालीन नेपालको दलीय राजनीतिमा सक्षम एवं विषय विज्ञता भएका प्रशस्त नेताहरु भएको पार्टी हो, नेपाली कांग्रेस । उमेरको एउटा सीमा पार गर्दै गरेका नेता पनि थुप्रै भएकोले नेतृत्वका लागि आकांक्षीहरु पनि धेरै संख्यामा देखिएका छन् । तीमध्ये देउवाका अतिरिक्त चर्चित नामहरु हुन्, रामचन्द्र पौडेल, डा.रामशरण महत, डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा शेखर कोइराला, विमलेन्द्र निधि, कृष्ण सिटौला । नाम थुप्रै भएपनि अन्तिम स्पर्धा दुईपक्षबीच नै हुनेछ ।
पुस्तान्तर र समय धेरै परिवर्तन भैसकेपनि कोइराला परिवारप्रति अझै सहानुभूति छ । डा शशांक महामन्त्रीमा खरोरुपमा उत्रिनेछन् भन्ने धेरैको अनुमान र आँकलन थियो । बीपीका उत्तराधिकारी वा अर्को आधुनिक भर्सन त नभनौं तर कार्यकर्ताहरु उनमा गिरिजाप्रसादको जस्तो महामन्त्रीय भूमिका, शक्ति र प्रभाव देख्न चाहन्छन् । सुशीलको जस्तो सरल जीवनशैली, निष्ठा र इमानदारी चाहन्छन् । त्यति मात्रै नभएपनि कम्तीमा डा शेखरको जस्तो सक्रियता खोजिरहेका थिए । तर उनमा त्यस्तो केही देखिएन । बरु उनको निष्कृय जीवन र आफ्ना खास व्यक्तिगत कमजोरीप्रति कार्यकर्ताहरु चिन्ता व्यक्त गर्न थालेका छन् । अहिलेका मतदाता पचास बर्षअघिका जस्ता होइनन् । चितवन गठजोडबाटै देउवाको पतन भएको बताउने डा. शशांक पार्टी महामन्त्रीको चुनावमा देउवासँग गठजोड गर्न पुगेको र चुनाव आफ्नो पक्षमा पारेको घट्नाप्रति मतदाताहरु बेखबर छैनन् ।
०३३ सालतिर बीपीलाई इन्दिरा गान्धी र पछिल्लो समय गिरिजाप्रसादलाई हतोत्साह गरेको पीडा डा शशांक र सुजातालाई बढी होला । यससँगै गाँसिएका थुप्रै घट्नाका कारण मुलुकमा बहुमतको कम्युनिष्ट शासन व्यवस्था छ । त्यस्तो पीडाबोध कम हुनसक्छ भनेर नै हुनुपर्छ डा.शेखरको नाम अहिले बढी मात्रामा चर्चामा ल्याइएको छ । सक्रियता बढी देखिन्छ तर पार्टी सभापतिको रुपमा स्वीकार्यता उनको भन्दा बढी डा शशांकको छ । तथापि महामन्त्रीको कार्यकाल हेरिसकेपछि उनले पनि देउवालाई हराउन पुग्ने मत बटुल्न सक्दैनन् भन्ने कार्यकर्ताहरुको टिप्पणी सुनिन्छ । डा. शेखर वा शशांकलाई अघि सारेर देउवाको विरुद्धमा एउटा अर्को परीक्षण गरौं न त भन्ने सुविधा पनि उनीहरुसँग बाँकी छैन ।
कसको संभावना ?
वरिष्ठताको हिसावले रामचन्द्र पौडेल नै एकजना पात्र हुनसक्छन् । तर उनको पार्टी चलाउन सक्ने सोचविचार, नयाँपन, उमेर, विगतको परीक्षण कुनै हिसावले सान्दर्भिकता देखिँदैन । कुनैपनि सफलता आर्जन गर्नका लागि जन्मजात क्षमता (बर्निङ ट्यालेन्ट) भएर मात्र पुग्दैन तीब्र चाहना (बर्निङ डिजायर) हुनुपर्छ । पौडेल र डा शेखरमा बर्निङ ट्यालेन्ट नभएपनि बर्निङ डिजायर चाहिं देखिन्छ । सुशील कोइराला पार्टी सभापति भएका बखत सम्पन्न पार्टीका विभिन्न तहको चुनावमा छानिएका महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुको संख्यालाई हिसाव गर्दा कोइरालाको पक्षमा दुईतिहाई भन्दा बढी थियो । जव उनको देहावसान भयो, पार्टीभित्रको यो जनमत कार्यवाहक सभापति पौडेलको पक्षमा प्रकट भएन । नतिजा ठीक विपरीत आयो । महामन्त्री र कोषाध्यक्ष लगायत केन्द्रीय सदस्यहरुमा मात्र पुरानो मत प्रकट भएको देखियो ।
त्यसैले कुनै परीक्षणको प्रतीक्षा नगर्ने हो भने देउवालाई हराउन सक्ने पात्र भनेको डा.रामशरण महत हुनसक्छन् ।
डा.महत नै किन ?
विसं २०१५ सालमा बीपीको नेतृत्वमा गठित नेपाली कांग्रेसको सरकारले धेरै आर्थिक, सामाजिक सुधारहरु गरेको थियो र त्यसमध्येको एक हो, एकै बर्षमा देशभर करिव १६ सय विद्यालयहरुको स्थापना । जनतालाई शिक्षित तुल्याउने त्यो ऐतिहासिक कदम थियो । त्यसबेला खोलिएका विद्यालयबाट शिक्षित र दीक्षित वर्ग नेपाली कांग्रेसको प्रमुख विरोधी र विचार निर्माता हुन् । ती शिक्षितहरु निजामती प्रशासन, अन्य सरकारी निकाय, गैरसरकारी संंस्था र विचार निर्माणका अन्य तहमा क्रियाशील छन् । यिनीहरुलाई परिचालन गरी काम लिन सक्ने क्षमता कि सूर्यबहादुर थापा कि गिरिजाप्रसाद कोइराला कि डा रामशरण महतमा देखियो । आफ्ना खास गुण, क्षमता र व्यक्तित्वका कारण उनीहरुले यी चेतनशील जमातलाई परिचालन गर्न सकेका हुन् ।
डा.महत क्षमताका हिसावले अन्तर्राष्ट्रिय एक्सपोजर भएका नेता हुन् भने दक्षिण एसियाली क्षेत्रका बौद्धिक बहसहरुमा समेत सहजरुपमा स्वीकारिन्छन् । उनले भारतका थुप्रै बौद्धिक मञ्चहरुमा यस क्षेत्रको विकासका लागि प्रखर प्रस्तुति दिएका छन् र निकै प्रभाव पार्न सफल भएका छन् ।
विसं २०४७ पछिको नेपाली कांग्रेसको नीतिगत दस्तावेज निर्माणमा उनको मुख्य भूमिका रहेको छ भने त्यस्तो नीति कार्यान्वयनका समयमा अर्को नेतृत्व कसरी सफल हुन सक्छ ? उनकै अगुवाईमा तयार भै लागू भएको आठौं योजना मुलुकको यस्तो दस्ताबेज हो, जसले नेपालको अर्थतन्त्रलाई आधुनिकीकरण गरेको छ । उदार आर्थिक नीतिमार्फत उच्च आर्थिक वृद्धिदर हासिल गर्ने, गरिवी निवारण, सामाजिक विकास, क्षेत्रीय सन्तुलन कायम गर्ने जस्ता महत्वपूर्ण पक्षमा ठूलो सफलता हासिल गरेको छ । कुल सरकारी विकास खर्चमध्ये सबैभन्दा बढी अर्थात ३१.५ प्रतिशत सामाजिक सेवामा र कुल विकास बजेटमध्ये ७० प्रतिशत ग्रामीण क्षेत्रमा परिचालन गर्ने कार्यको थालनी भएको र यसैका कारण मुलुकको औसात आयु बढेको र गरिवी आधाभन्दा बढी घटेको श्रेय डा महतलाई नै जान्छ । नेतृत्व बिकासका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एक्सपोजरका साथै विगतमा आफ्नो कार्यक्षमता प्रदर्शन गरिसकेका नेता पनि हुन् उनी । कम्युनिष्ट सरकारले पनि उक्त नीतिलाई नै पछ्याइरहेको देखिन्छ । तर कम्युनिष्ट सरकारबाट समृद्धि हासिल हुन नसक्ने स्पष्ट भैसकेको छ । यस पृष्ठभूमिमा आफ्नो जीवनकालमै नेपाली जनतालाई समृद्धि र प्रगतिको स्वाद चखाउन अवको आर्थिक एजेण्डाको अगुवाई गर्नसक्ने काविल पनि उनै हुन् ।
दुवै पक्षलाई समेटेर लैजान सक्ने र गुटभन्दा माथि उठ्न सक्ने नेतृत्व आवश्यक छ । अन्य आकांक्षीहरुका समूह भएपनि दुवै पक्षलाई समेट्न सक्ने उम्मेद्वारहरुमा डा. महत हुन् । वरिष्ठता, व्यक्तित्व र स्वीकार्यताका हिसावले अन्य उम्मेद्वारभन्दा वजनदार छन् । अझ सबैभन्दा महत्वपूर्ण पक्ष देउवा नेविसंघको सभापति हुँदा डा महत महामन्त्री थिए । वरिष्ठता र समकालीन भएकोले मात्र होइन, देउवा र डा. महतको २५।२६ प्रतिशत भोटब्यांक समान छ । विभिन्न क्लस्टरमा आधारित निर्णायक यो मत अहिलेको अवस्थामा अन्य उम्मेद्वारतर्फ मोडिन सक्ने संभावना छैन । यसअघि पार्टीको तत्कालीन संस्थापन पक्ष सुशीलको पक्षमा देखिएको दुईतिहाइ भन्दा बढी मत चुनावताका आश्चर्यजनक ढंगले स्वीङ हुनुको खास कारण पनि यही हो र यस आयामलाई बुझ्ने कसरत गर्नैपर्ने हुन्छ । कार्यकर्ताको मतको यो ढिक्का विरासतको भन्दा निकै बढी छ । अन्य उम्मेद्वार भएको खण्डमा फेरि पनि देउवाले चुनाव जित्ने खतरा बढ्छ । कांग्रेसलाई एक ढिक्का बनाएर लैजाने जिलीगाँठी पनि यहीँभित्र छ ।
तर यसका लागि पौडेलपक्षीय भनिएका सम्पूर्ण नेता एकठाउँमा उभिनुपर्छ । दुवै पक्ष समायोजित एउटै बलियो कांग्रेस आवश्यक भएकोले देउवाबाहेकका उनीपक्षीय नेता कार्यकर्ता पनि एकढिक्का भएको पार्टीले मात्र चुनाव जित्न र उल्लेखित चुनौती तथा राष्ट्रिय अन्तर्राष्ट्रिय जल्दाबल्दा मुद्दाहरुलाई किनारा लगाउन सक्नेछ । यसका लागि एकल नेतृत्वभन्दा पनि सामुहिक नेतृत्वमा जानुपर्छ । डा महतको नेतृत्वमा पार्टी सञ्चालन र सरकार सञ्चालनको भित्री हिसाव किताव गरेर एउटा बलियो टिम बनाउनैपर्छ । पार्टीको नेतृत्व सक्षम बनाएर कार्यकर्ताहरुको मनोबल उच्च राख्नुपर्छ । संगठन र कार्यकर्ता पंक्तिलाई क्रियाशील र जुझारु बनाउनुपर्छ । कम्युनिष्ट सरकार असफल भैरहेको सन्दर्भमा आगामी चुनाव जित्न सहज हुन्छ आफूलाई पछि राष्ट्रपतिको संभावित उम्मेद्वारको रुपमा अघि सार्न पौडेलले यी सबै गुट उपगुटहरुलाई मिलाउन पहल गर्नुपर्छ । चुनाव जितिसकेपछि अहिले नेतृत्वका आकांक्षीहरुमध्ये प्राय नेताहरु औकात अनुसार र योगदान गर्नसक्ने ठाउँमा समायोजन भैहाल्छन् । छिमेकी मुलुक भारतमा पनि पार्टी अध्यक्ष राजनाथ सिंहले चुनाव जित्न अगुवाई गर्ने नेता नरेन्द्र मोदीलाई अघि सारे र उनकै मन्त्रिमण्डलमा सिंह गृहमन्त्री भए । तर आमचुनावको यो एउटा नमूना भएपनि विश्वमा पार्टीको चुनाव र नेतृत्वमा नेपालको जस्तो रस्साकस्सी कहीँपनि देखिदैन ।
निष्कर्षमा दोस्रो कार्यकालका लागि सभापतिमा उम्मेद्वारी दिने नैतिकता देउवामा बाँकी त छैन । तर पार्टी नेतृत्वका आकांक्षीहरुले अलिकति मात्र पनि बुद्धि पु¥याएनन् भने साधन स्रोत र तिकडमको भरपूर प्रयोग गर्न सक्ने देउवाले नै नेतृत्व हात पार्न सक्छन् ।